विजय रानामगरलाई ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि
पाेखरा | असार १, २०८२
पोखरा: दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्।
रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्।
विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७ दशमलव ५५ किलोमिटर दौड पूरा गरेका थिए। शनिबार बिहान ८ बजे सुरु भएको दौड आइतबार बिहान ९ बजेसम्म सञ्चालन भएको थियो।
फिट नेपालको आयोजनामा पोखराको भलाममा सम्पन्न भएको यस प्रतिस्पर्धामा विभिन्न देशका ५२ जना धावकले सहभागिता जनाएको कुरा संयोजक सुवास चन्द्र बस्नेतले बताए।
आयोजक तथा दौडका निर्देशक जितेश प्रधानले ब्याकयार्ड अल्ट्रा अनौठो र चुनौतिपूर्ण दौड रहेको बताए। उनले बताएअनुसार, सहभागीहरूले हरेक घण्टामा ६ दशमलव ७०५ किलोमिटर दूरी तय गर्नुपर्छ। यो दूरी एक राउन्डको रूपमा लिइन्छ र प्रत्येक राउन्ड १ घण्टा भित्र सम्पन्न गर्न अनिवार्य हुन्छ।
दौडको मुख्य विशेषता भनेको, यो कुनै निश्चित दूरी वा समयसम्म मात्र सीमित हुँदैन। दौड तबसम्म चलिरहन्छ जबसम्म अन्तिम एक जना धावक मात्रै बाँकी रहन्छ। त्यस्तै नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा १२ लूप अर्थात् १२ राउण्ड पार गर्नुपर्नेछ।
प्रतियोगितामा मिलन कुलुङले पनि २४ लूप पूरा गरेका छन्। उनी पनि अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा प्रतियोगितामा सहभागी हुने कुरा आयोजकले बताए। प्रतियोगितामा महिला धाविका पदम कुमारी सुनुवारले १२ लूप पूरा गरी २० हजार रुपैयाँ प्राप्त गरेकी छिन्।
यस प्रतियोगितामा महिला र पुरुष एउटै समूहमा रहेको हुँदा, सुनुवारलाई प्रोत्साहन स्वरूप उक्त रकम प्रदान गरिएको आयोजक पक्षका इश्वर गुरुङले बताए।
यस किसिमको दौडमा सहभागीहरूले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जंगली जनावर र चराचुरुङीको आवाज सुन्न पाउने कुरा फिट नेपालको राजीव श्रेष्ठले बताए।
सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेलले सुरु गरेको यो प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्ने गरी विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए।
ब्याकयार्ड अल्ट्रा नेपालको पहिलो संस्करण गत माघ महिनामा भक्तपुरमा आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा अर्जुन कुलुङ राईले २१ लूप पूरा गर्दै उपाधि जितेका थिए।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

